
तिलोत्तमा,२०८० फाल्गुण १३ गते।नेपालका लागि भारतिय राजदुत नविन श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध र सहयोग सदैव रहिरहने बताउनुभएको छ । भारतीय राजदुतावासको सहयोगमा बनेको एक क्याम्पसमा निर्मित विज्ञान भवन हस्तान्तरण पछि बोल्दै श्रीवास्तवले नेपाल भारतका लागि छिमेकी राष्ट्रसंगै असल मित्र समेत रहेको दावी गर्दै यो सधै कायम रहीरहने बताउनुभयो ।उहांले भारत र नेपालको सम्बन्ध दुई देशका सरकारका बीचमा मात्र नभएर सांस्कृतिक र सामाजिक रुपमा पनि बलियो रहेको बताउनुभयो । उहाँले गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकहरुलाई आकर्षित गर्न सके लुम्बिनीको मात्र नभई सिंगो नेपालकै आर्थिक विकास हुनसक्नेमा जोड दिनुभएको छ । श्रीवास्तवले लुम्बिनीमा पछिल्लो समय भारतीय धार्मिक पर्यटकहरुको संख्या बढ्दै गएको समेत जिकिर गर्नुभयो ।
राजदुत श्रीवास्तवले नेपाल र भारतको सम्बन्धलाई अझै बलियो बनाउन भारत सरकारले समुदाय विकास कार्यक्रम मार्फत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको बताउनुभएको छ । सन् २००३ देखि भारत सरकारले नेपालका लागि अगाडी सारेको समुदाय विकास कार्यक्रम मार्फत हालसम्म ५५० वटा विद्यालय भवन निर्माण भईसकेको बताउनुभएको छ ।
राजदुत श्रीवास्तवले यसअघि नेपालका विकास परियोजनामा भारतीय दूतावासले खर्च गर्न सक्ने पाँच करोडको सिमिततालाई बढाएर २० करोड बनाईएको स्मरण गर्दै तिलोत्तमा वा रुपन्देही आसपासमा पनि त्यस्तो नयाँ योजना संचालन गर्ने चाहना रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य र पूर्वाधारमा गरेको सहयोग र सहकार्यको प्रशंसा गर्नुभयो ।सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले नगरपालिकाको शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा भारत सरकारको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।नगरपालिकाको प्राङ्गणमा राजदुतको टोलीलाई स्वागत गर्दै आगामी लक्ष्य र बिकास सम्बन्धी प्रस्ताव समेत राखिएको थियो।
कमेन्ट गर्नुहोस्