
तिलोत्तमा,असार ३ गते २०८०। गाउँपालिकामा रसिद नकाटिकन अवैध रुपमा माटो र ढुंगा निकासी गर्ने तीनवटा टिपर (हाईवा) लाई प्रहरीले नियन्त्रणमा लिएको छ। पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरेस्थित भित्री सडकबाट अवैध रुपमा ढुङ्गा माटो निकासी गर्ने टिपरलाई प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा बुझाएको हो ।
प्रहरीका अनुसार प्रदेश २–०३–००१ ख ३२२९, र प्रदेश २–०३–००१ ख २९९२ र र प्रदेश २–०३–००१ ख २९९४ नम्बरको टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी जाँचका क्रममा गाउँपालिकाको स्वीकृतिबिना ढुंगा माटो निकासी गर्ने आम्रपाली कन्स्ट्रक्सनका टिपरलाई नियन्त्रणमा लिएर तिनाउ गाउँपालिकामा बुझाइएको प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले बताए । गाउँपालिका राजस्व शाखाका अनुसार रसिद नकाटिकन निकासी गर्न लागेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर बुझाएको छ । आइतबार तीनवटै टिपरलाई २५ हजारका दरले जरिवाना काटेको शाखाका प्रमुख नीरञ्जन लामिछानेले जानकारी दिए ।
चर्चरे नजिकै वडा कार्यालय जाने बाटोमा खनेको गग्रेटो विना रसिद निकासी गर्न लागेको उनले बताए । तिनाउ गाउँपालिकाले अवैध रुपमा रसिद नकाटिकन नदीजन्य पदार्थ, माटो, ढुंगा निकासी गरेको फेला परेमा ट्र्याक्टरको १० हजार, टिपरको २५ हजार र उत्खननमा प्रयोग हुने जेसीभीको ५० हजारका दरले लिने गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन र निकासीमा रोक लगाएको छ । तर अटेरी गर्दै निकासी र उत्खनन् भइरहेकाले प्रहरीले कडा जाँच गरेको जनाएको छ । तिनाउमा शुक्रबार र शनिबार नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिभी, ट्र्याक्टर, टिपर प्रहरीले नियन्त्रणमा लिएको थियो ।
कमेन्ट गर्नुहोस्