लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सानाकिसान देवदहको स्वच्छ दूधउत्पादन उपआयोजनाको दोस्रो सार्वजनिक सुनुवाई सम्पन्न

tillotmacitynews - 2023 Jan 02 10:56 PM
IMG

तिलोत्तमा,२०७९ पौष १८। साना किसान कृषि सहकारी संस्था देवदह ६ रुपन्देहीको आयोजना र नेपाल लाइभस्टक सेक्टर बिकेन्द्रीकरण ईकाई बुटवलको सहयोगमा सञ्चालित स्वच्छ दूध उत्पादन उन्नत गाईपालन व्यवसाय उपआयोजनाको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न  भएको छ । सोमबार संस्थाको कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरि उपआयोजना अन्तर्गत हालसम्म सम्पन्न भएका कामहरुको बारेमा जानकारी गराइएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले कृषि उत्पादनबिना जीवन सम्भव नभएको बताउँदै नगरपालिकाले जमिनको वर्गिकरणका लागि अबिलम्ब निर्णय गर्ने बताउनुभयो । साना किसानद्वारा सञ्चालित आयोजना निकै महत्वपूर्ण रहेको बताउँदै अनुदान दिने भन्दा पनि उद्यमी बनाउनु अत्यावश्यक रहेको बताउनुभयो । खरेलले पछिल्लो समय युवाहरु विदेश पलायन हुने र त्यसकै रेमिट्यान्सले देश चलाउने लज्जास्पद अवस्था रहनु दुखद रहेको बताउँदै नगरभित्रका युवाहरुलाई स्वरोजगार बनाउन न्युनतम ३ प्रतिशत सेवा शुल्क लिएर दिने गरि नगरपालिकाले यस वर्ष रु. ५० लाख विनियोजन गरेको जानकारी दिँदै आगामी वर्षहरुमा उक्त रकमलाई थप गर्दै जाने बताउनुभयो ।


किसानहरुले दूध दिँदासम्म पाल्ने र दूध दिन छोडेपछी बाटोमा पशु छोड्ने चलन अत्यन्तै गलत भएको उल्लेख गर्दै नगरपालिकाले त्यसलाई नियमन गर्न छिट्टै प्रत्येक वडामा पशुहरुको जन्मदर्ता, मृत्युदर्ता एवं खरिद बिक्रीको दर्ता गर्ने र सडकमा छोड्नेलाई कारबाही गर्ने गरि कार्यविधी बनाउने योजना रहेको बताउनुभयो । आफुहरुले कृषि उत्पादनको भण्डारणका लागि चिस्यान केन्द्र निर्माण गर्न बजेट व्यवस्थापन गरेको जानकारी दिँदै घाँस, दाना तथा विभिन्न व्यवस्थापकिय अफ्ठ्याराका कारण पछिल्लो समय देवदहको दूध उत्पादन घटेको बताउनुभयो । उहाँले पछिल्लो समय प्रचलनमा रहेको पशु दाना साइलेस उत्पादनका लागि योजना लिएर आए नगरले बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रमको औचित्यमाथी बोल्दै सहकारीका अध्यक्ष टीका न्यौपानेले उप आयोजना अन्तर्गत नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय मातहतको नेपाल लाइभ स्टक सेक्टर इन्नोभेसन आयोजनाको १ करोड रुपैयाँ अनुदान र सहकारीको १ करोड गरि २ करोडको लागतमा देवदहका २५ जना दुग्ध उत्पादक कृषकहरुलाई अनुदान प्रदान गरिएको जानकारी दिनुभयो ।  उप आयोजना अन्तर्गत १७ जना कृषकलाई नयाँ गोठ निर्माणका लागि र ८ जनालाई गोठ सुधारका लागि अनुदान प्रदान गरिएको छ । अध्यक्ष न्यौपानेले आफुहरुले आफ्ना सहकारीका कृषक सदस्यहरुलाई उद्यमी बनाउनका लागि उप आयोजना निकै महत्वपुर्ण रहेको बताउनुभयो । कृषकको गोठ निर्माण, गाई खरिद, एप्रोन, दाना, पराल, आवश्यक सामाग्री लगायत सम्पूर्ण पक्षको व्यवस्थापनमा उप आयोजना केन्द्रीत रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो । उहाँले २ करोडको आयोजना अन्तर्गत पहिलो चरणमा करिब ६४ लाख भुक्तनी लिइसकेको र दोस्रो चरणको करिब १ करोड ३६ लाख भुक्तानी लिने क्रममा रहेको जानकारी दिनुभयो ।


कार्यक्रममा बोल्दै साना किसान बिकास लघुवित्त बित्तिय संस्था बुटवलका प्रमुख गणेश प्रसाद भट्टराईले सरकारले मासु, दूध र तरकारीमा आत्मनिर्भर बनाउने योजना ल्याएसँगै साना किसान बिकास लघुबित्तले त्यसमा लगानी गर्दै आएको बताउनुभयो । उहाँले उत्पादनमा लाग्ने किसानहरु इमान्दार हुनुपर्ने आवश्यकता औँल्याउनु भएको थियो । पछिल्लो समय साना किसान बिकास लघुवित्त बित्तिय संस्थाले ग्रामिण लघु उद्यम अन्तर्गत कृषि उद्यम गर्न ५ वर्षको लागि जम्मा ८ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिन पाउने गरि सरकारले अनुमती दिएको उल्लेख गर्दै व्यवसायिक बन्न चाहने किसानहरुले उक्त ऋणबाट फाइदा लिन सक्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष गणेश डुम्रेले आयोजना मार्फत सहकारीले देवदह क्षेत्रका कृषकहरुलाई व्यवसायिक बनाउँदै नगरकै समृद्धिका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले आयोजना सञ्चालन पारदर्शी रुपमा भएकाले नै सहकारीले सबैलाई बोलाएर सार्वजनिक सुनुवाई गरेको उल्लेख गर्दै अनुकरणीय कामका लागि सहकारीको नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभयो । डुम्रेले यो भएन त्यो भएन भनेर बिरोध मात्र गर्ने भन्दा पनि आफुसँग भएका योजनाहरु नगरपालिकामा लिएर आउन समेत आग्रह गर्नुभयो ।


शुभकामना मन्तव्य राख्दै देवदह नगरपालिकाका पशु शाखा प्रमुख हर्क बहादुर डानीले किसानले पाउने राहतको लागि साना किसान कृषि सहकारीले बडो मेहनतका साथ आयोजना ल्याउन, सञ्चालन गर्न र सम्पन्न गर्न सफल भएको बताउनुभयो । आयोजना अन्तर्गत राज्यले दूध र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको तर अहिले पनि भारतबाट ठूलो परिमाणमा दूध तथा मासु आयात हुँदै आएको अवस्था चिन्ताजनक रहेको बताउनुभयो । आयोजना अन्तर्गत राज्यको उद्देश्य परिपुर्ती गर्नेतर्फ सबैको ध्यान जानुपर्ने उहाँको भनाई छ ।कार्यक्रम संस्थाका उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत र व्यवस्थापक सरला सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्