लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हवाई उडान नियमित,सडक यातायातमा ठप्प

IMG

तिलोत्तमा २०७८ बैशाख १६ गते बिहिबार। काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा बिहीबारदेखि निषेधाज्ञा लागू हुँदैछ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा लागू गरिएका अवस्थामा पनि दुवैतर्फका उडान नियमित हुने जनाएको छ । क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञा लागू हुने बिहीबारदेखि आन्तरिक र अन्तरराष्ट्रिय उडान नियमित सञ्चालन गरिने जानकारी दिए । विमानस्थलसम्म जाने यात्रु तथा एयरलाइन्सका कर्मचारीको सहज आवागमनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरिएको क्यानको भनाइ छ । आन्तरिक उडान नियमित हुने भए पनि निषेधाज्ञाअघिको तुलनामा यात्रुको सङ्ख्या कम हुने प्रवक्ता क्षेत्रीले बताए ।


तथापि निषेधाज्ञाको नराम्ररी असर आन्तरिक हवाई उडानमा परेको छ । निषेधाज्ञा हुने अघिल्ला दुईदेखि तीन दिनमा वायुसेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेर यात्रुलाई गन्तव्यमा पु¥याउन ब्यस्त रहे । यसबीचमा काठमाडौँ बाहिरिने र भित्रिने हवाई यात्रु पनि ह्वात्तै बढेका छन् । यात्रुको सुविधालाई मध्यनजर गर्दै अधिक सङ्ख्यामा उडान थपिएको एयरलाइन्सले जनाएका छन् आन्तरिक उडानका ठूला हवाई सेवा प्रदायक कम्पनीहरु बुद्ध एयर, यती एयलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीलाई यात्रु ओसार्ने चटारो परेको छ । यात्रुको चाप बढेपछि वायुसेवा कम्पनीले उडान थपेका छन् । बुद्धले आज २२ र मङ्गलबार २० तथा यतीले पाँच उडान थपेको थियो । बुधबार पनि सोही हाराहारीमा उडान थपिएको कम्पनीले जनाएका छन् । बुद्ध एयरले आज १५० उडानमार्फत झण्डै आठ हजार यात्रु गन्तव्यमा पुर्याएको छ । सो कम्पनीले मङ्गलबार मात्रै देशका विभिन्न गन्तव्यमा आगमन र प्रस्थान दुवैगरी १४८ वटा उडान गरेको छ । ती उडानबाट सात हजार ५०० सयभन्दा बढी यात्रु उडेका छन् ।


बुद्धले बिहीबारका लागि १०० हाराहारी उडान गर्ने र ती उडानका लागि करिब चार हजार यात्रुले बुकिङ्ग गरेको जनाएको छ । कम्पनीका सूचना अधिकारी दीपेन्द्र कर्णले निषेधाज्ञा अघिको तुलनामा कम सङ्ख्यामा उडान हुने बताए । उडान सञ्चालन भए पनि विमानस्थलसम्म पुग्ने र फर्कनेका लागि के कस्तो व्यवस्था हुन्छ भन्ने अझै अन्यौलता रहेको बताए। यती एयरलाइन्सले आज आगमन र प्रस्थान दुवैगरी ७६ उडान गरेको छ । उक्त उडानबाट चार हजार १०० यात्रुले सेवा लिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । यतीले बिहीबार २७ उडान निर्धारण गरेको छ । कम्पनीले मङ्गलबार ७० उडान गरेको थियो । तीन हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।


निषेधाज्ञा लागू भए पनि आन्तरिक उडान नरोक्ने सरकारको निर्णय अनुरुप एयरलाइन्सले उडान नियमित सञ्चालन गर्नेछन् । यसबीचमा यात्रुको सङ्ख्या भने न्यून रहेको कम्पनीको भनाइ छ । हवाई कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गरेर उडान नियमित गर्ने जनाएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । अन्तरराष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएकामा कोभिड महामारीकै बीच अहिले २० वायुसेवा प्रदायकले अन्तरराष्ट्रिय उडान गरिरहेका छन् ।


सुरक्षित हवाई यात्राका लागि अपिल


वायु सेवा सञ्चालकहरुको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घ, नेपालले कोभिड महामारीको विषम परिस्थितिमा हवाई यात्रा सुरक्षित नै हुने हुदाँ सम्पूर्ण यात्रुमा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी हवाई यात्राका लागि अपिल गरेको छ । सङ्घले बुधबार एक विज्ञप्ति जारी गर्दै सदस्य वायुसेवा कम्पनीहरुले सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमोदित कोभिडसम्बन्धी ‘स्टान्डर्ड अपरेटिं प्रसिउडर’ को पूर्णरुपमा पालना गर्नेगरी यात्रुलाई सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।


मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णयअनुसार आन्तरिक हवाई उडान वायुसेवा कम्पनीहरुले यथावतरुपमा हवाई सेवा सञ्चालन भइनै राख्ने निर्णय गरेको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । अहिलेको असहज परिस्थितिमा हवाई यात्रा सुरक्षित रहेको र स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरेर सेवा प्रदान गरिने उनले उल्लेख गरे ।


 भेदभाव भएको गुनासो

यता बिहीबारदेखि सुरु हुने निषेधाज्ञामा हवाई सेवा सञ्चालन गरेर सार्वजनिक यातायातलाई मात्र रोक्नुु सरकारको विभेदकारी निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घले बुुधबार विज्ञप्ति जारी गरी हवाई सेवा सञ्चालन गर्ने तर सार्वजनिक यातायातलाई मात्र रोकेर कोरोना नियन्त्रण हुन नसक्ने दाबी गरेको छ । हवाई सेवा सञ्चालन गर्ने हो भने सार्वजनिक यातायातलाई पनि स्वास्थ्य मापदण्ड लागू गरेर सञ्चालन गर्न दिनुुपर्ने महासङ्घका महासचिव सरोज सिटौलाको भनाइ छ ।


उनले भने, “गाडीबाट कोरोना फैलिने हवाई यातायातबाट नफैलिने भन्ने कुरा होइन । सरकारको निर्णय नै विभेदकारी भयो, यस्ता निर्णयले कारोना रोकथाम हुुनसक्छ भनेर हामी कसरी विश्वस्त हुने ? यो त सार्वजनिक यातायातमाथिको विभेद हो । ” जोरबिजोर प्रणाली लागूगरी स्वास्थ्य मापदण्डमा कडाइ गरेर सार्वजनिक यातायात सञ्चालन गर्न सकिने महासङ्घको सुुझाव छ । गत वर्ष झन्डै सात महिना बन्द भएको सार्वजनिक यातायात पुनः उत्तिकै समय बन्द हुने हो भने उठ्न नसक्ने महासङ्घको दाबी छ । व्यवसायीहरू विस्तापित हुने र सार्वजनिक यातायात क्षेत्र धराशयी हुनसक्ने सम्भावनाप्रति पनि बेलैमा सजग हुन महासङ्घले ध्यानाकर्षण गरेको छ ।-राससको सहयोगमा साभार 

कमेन्ट गर्नुहोस्