लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१४ महीना ‘भूमिगत’ भएरै सफाई पाएका प्रहरी डीएसपी ढुंगेल

IMG

प्रहरीले गर्ने अपराध अनुसन्धानका क्रममा ‘अण्डर कभर अपरेशन’का लागि सबैजसो कमाण्डरहरूका लागि भरोसायोग्य अधिकारीका रूपमा चिनिन्छन्, डीएसपी कुमुद ढुंगेल। ‘अण्डर कभर अपरेशन’को चरित्र नै यसमा खटिनेहरूको सम्पर्क र सम्बन्ध सबैखाले व्यक्तिसँग हुने गर्छ। सूचना संकलन सर्वाधिक महत्वपूर्ण हुने हुँदा यिनको सम्पर्कमा कतिपय संदिग्ध व्यक्ति र अपराधीसम्म पनि हुन्छन्। तर, यही विशेषता कुमुदको व्यावसायिक जीवनमा पासो बनेर आयो। 


डीएसपी ढुंगेल रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यभार सम्हालेको एक महीना मात्र भएको थियो। त्यही ताका २६ चैत २०७५ मा काठमाडौंमा व्यवसायी लालेन्द्र शेरचनको घरमा लुटपाट भयो। लुटपाटमा पक्राउ परेका व्यक्तिको ढुंगेलसँग टेलिफोन सम्पर्क देखिएको भन्दै प्रहरी नेतृत्वले नै उनीमाथि वक्रदृष्टि राख्न थाल्यो। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार मानिएका समिरमान सिंह बस्न्यातसँग समेत निरन्तर टेलिफोन संवादमा रहेको भन्दै उनलाई छानबिनपछि ‘कारबाही गर्न लागिएको’ सूचना ‘लिक’ गरियो। 


तत्कालीन गृहसचिव प्रेमकुमार राईले आईजीपी खनाललाई यसबारे छानबिन गर्न निर्देशन दिएको सूचना प्रहरी प्रधान कार्यालयबाटै प्रवाह गरियो। अनि १९ वैशाख २०७६ मा प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन ग¥यो। यो घटनापछि ढुंगेल ‘भूमिगत’ भए। त्यतिबेला प्रहरी मुख्यालयमै कार्यरत एक वरिष्ठ प्रहरी अधिकारी भन्छन्, “उनलाई किन फसाउन खोजिएको हो भन्ने नै रहस्यमय छ, तर प्रहरी नेतृत्वले नै नियोजित रूपमा फसाउन लागेको बुझेपछि उनीसामु भागेर जोगिनुबाहेक अर्को उपाय थिएन। शायद त्यो बेला पक्राउ परेको भए उनलाई जेलमै सडाइन्थ्यो होला।”प्रहरीले वाह्वाही बटुलेका कैयौं अन्डर कभर अप्रेसनको नेतृत्व गरेका डीएसपी कुमुद ढुंगेललाई प्रहरी नेतृत्वले नै फसाएर जेल हाल्न खोजे। १४ महीना फरार भएर जोगिएका उनले बल्लबल्ल अदालतबाट सफाइ पाए।


त्यसबेला ढुंगेलले आफ्ना केही सिनियर अधिकृतहरूलाई योभन्दा पनि डरलाग्दो कुरा सुनाएका थिए। ढुंगेललाई उद्धृत गर्दै ती प्रहरी अधिकारी भन्छन्, “फसाउने मात्र नभई समातेर मलाई सिध्याउने योजना नै बनेको थाहा पाएपछि ज्यान जोगाउन फरार भएको हुँ।” त्यसपछि उनी फरार रहेको भन्दै १८ मंसीर २०७६ मा पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइयो। तर, उनलाई पक्राउ गर्न सकेन। १८ पुस २०७६ मा ढुंगेलसहित १२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरियो। अदालतले यो मुद्दामा सुनुवाई गर्दै २ असार २०७७ मा ढुंगेललाई साधारण तारेखमा रिहा गर्न आदेश दियो। ढुंगेल त्यही दिन मात्र अदालतमा हाजिर भएका थिए। 


अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि ढुंगेलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो। निलम्बन हटेपछि प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा हाजिर भइरहेका उनको व्यावसायिक जीवन भने यो घटनाक्रमपछि नपत्याउने गरी बदलिएको छ। “ऊ अण्डर कभर अपरेशनमा जहिले, जहाँ पनि जान तयार हुने अफिसर हो” प्रहरी हेडक्वार्टरमा कार्यरत एक उच्च अधिकारी भन्छन्, “तर यो घटना पछि अब जोखिम लिएर काम गर्न हुन्न भन्ने मनोविज्ञान उसमा विकास भएको देख्छु।” ती अधिकारीले प्रहरी अधिकृतहरूमा देखिन थालेको यस्तो मनोविज्ञानले संगठनको भलो नगर्ने टिप्पणी समेत गरे।


ढुंगेलले प्रहरी संगठनले वाह्वाही बटुलेका कैयौं ‘इन्काउन्टर’को नेतृत्व गरेका छन्। काठमाडौंमा भएको चरी भनिने दिनेश अधिकारीको घटना होस् या बुटवलपारि भारतीय भूमिमा बसेर त्यस क्षेत्रमै गुण्डाराज मच्चाएका मनोज पुनको ‘इन्काउन्टर’, ढुंगेलकै नेतृत्वमा भएको प्रहरी अधिकारीहरू बताउँछन्। उनकै प्रत्यक्ष नेतृत्वमा भएका यस्ता घटनाको लामो सूची छ। तर, आफ्नै संगठनको नेतृत्वबाट उनीमाथि किन यस्तो व्यवहार भयो ? “म रौतहटमा रहेका बेला काठमाडौंमा भएको लूटपाटमा संलग्न भयो भनिएछ, अदालतले प्रमाण हेरेर मलाई सफाइ दियो। समीरमान सिंह बस्न्यातसँग सम्पर्कमा रह्यो भनियो, जबकि समीरमानसँग सम्पर्क गर्न नसकिएको भए मनोज पुनलाई पत्ता लगाउन सकिन्नथ्यो” केही समयअघि ढुंगेलले आफूलाई सुनाएको उद्धृत गर्दै एक डीआईजीले सुनाए, “म रौतहटमा हुँदै (पछि सर्लाहीमा भएको) कुमार पौडेलको इन्काउन्टर मबाटै गराउने योजना बनाइएको रहेछ, मलाई त्यहीं फसाइने रहेछ, तर मैले त्यो गर्दिनँ भनिदिएँ।” 


‘नियत नहेर्ने केको नेतृत्व ?’


निर्मला पन्त हत्या घटनाको घानमा परेका डीएसपी अंगुर जिसी, सुनकाण्डमा फसाइएका एसएसपी दिवेश लोहनी,अनुसन्धानको लागि प्रहरीले प्रयोग गर्ने पद्धतिमाथि धावा बोलेर अनुसन्धान गर्ने प्रहरी नै घटनामा संलग्न भएको आरोप लागेका अनुसन्धानमा अब्बल मानिने प्रहरी निरीक्षक दीपेन्द्र अधिकारी र अपराधीसँग साँठगाँठ गरेको अभियोग लगाइएका डीएसपी कुमुद ढुंगेलले भोगेको यो अवस्थामा एउटा समानता छ। त्यो हो– उनीहरू तीनै जनाले प्रहरीको कर्तव्य निर्वाहका क्रममा बहन गरेको जिम्मेवारी नै स्वयम्का लागि फन्दा बनेको थियो। 


प्रहरी यस्तो संगठन हो जसका सदस्यहरूले बहन गर्ने जिम्मेवारीलाई नेतृत्वले गुण र दोषका आधारमा केलाउन र प्रश्न उठेमा त्यसको नियत बुझ्न जरूरी हुन्छ। ‘चेन अफ कमाण्ड’ मा चल्ने संगठन भएकाले यसका प्रत्येक सदस्यले गर्ने राम्रा कामको जस नेतृत्वले पाउँछ, नराम्रा कामको अपजस पनि उसले बोक्नुपर्ने हुन्छ। त्यहीकारण असल नियतले गर्दागर्दै पनि सदस्यबाट हुने गल्ती नेतृत्वसम्म ठोक्किन आइपुग्छ। 


पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी काम गर्ने क्रममा चुक हुन सक्ने तर त्यो नियतवश हो कि होइन भनेर नेतृत्वले हेर्नैपर्ने बताउँछन्। “चुक भएको छ, तर त्यो नियतवश होइन भने त्यसलाई अपराधका रूपमा ट्रिट गरिनुहुन्न, अपराध नै नगरी सजायको भागीदार बनाइनुहुन्न” उनी भन्छन्, “नेतृत्वले हेर्नुपर्ने अर्को कुरा चाहिं त्यस्तो चुक फेरि हुन्छ कि हुन्न, ऊ सुध्रिन्छ कि सुध्रिन्न भन्ने पनि हो।”


जिम्मेवारी बहनका क्रममा गरेको कामकै कारण पेशागत, सामाजिक र व्यक्तिगत जीवनमा निकै ठूलो धक्का व्यहोरेका तीन जना प्रहरी अधिकृतबारे नेतृत्वले त्यसरी हेर्न नसकेको उनको टिप्पणी छ। “दिवेश लोहनीले गर्न खोजेको के थियो वा उसले गरेको कुराले केही हानि गरेको थियो कि थिएन भनेर हेरिनुपथ्र्यो, गृह मन्त्रालयले उनलाई सिध्याउने हर्कत गरेपछि प्रहरी संगठनले त्यो चंगुलबाट बाहिर निकालिदिनुपथ्र्यो” उनले भने, “कुमुद ढुंगेलको विशेषता भनेकै जुनसुकै एक्स्ट्रिममा गएर पनि एक्सन लिनसक्ने हो। यस्तो काम गर्ने अफिसरको सम्पर्क किन हो भन्ने त नेतृत्वले बुझ्न सक्नुपथ्र्यो नि !” अंगुर जिसीलाई पनि अनुसन्धान सही नगरेको भनेर दुई वर्षसम्म मुद्दा चलाइएको, अन्ततः अनुसन्धानको पछिल्लो सुई जिसीले गरेको अनुसन्धानकै बाटोमा हिंडेको उनको भनाइ छ। 


पूर्व गृहसचिव गोविन्दप्रसाद कुुसुम सुरक्षा संगठनका प्रमुखले काम गर्दाखेरि राम्रो भएमा जस तल्लो पंक्तिलाई दिनुपर्ने र खराब भएमा त्यसको जिम्मेवारी नैतिक रूपमा आफूले लिनुपर्ने बताउँछन्। “त्यसो भयो भने मातहतको मनोबल बढ्छ” उनी भन्छन्, “नेतृत्वले राम्रो काम हुँदा मातहतले गरेको भनिदिए जस स्वतः आफूमा आउँछ, खराब काम हुँदा भित्र जे भन्नु छ भन्नुप¥यो, तर बाहिर चाहिं उसलाई संरक्षण गर्नुपर्छ। नेतृत्वले बाहिर भन्नुपर्छ– त्यसको नैतिक जिम्मेवारी मेरो हो, म जिम्मेवारी लिन्छु।” साभार हिमालखबर 

कमेन्ट गर्नुहोस्