
३० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।
सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु भएकाहरुको संख्या लुकाएको खुलेको छ ।नेपालमा पहिलो पटक जेठ ३ मा सिन्धुपाल्चोक, बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । हालसम्म ७१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।तर नेपाली सेनाले हालसम्म ८८९ जनाको शव व्यवस्थापन गरिसकेको तथ्यांक उपलब्ध गराएको छ । कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले मात्र गर्दै आएको छ । र, हरेक शव व्यवस्थापनबारे सेनाको पृतनाहरुलले विस्तृत विवरण केन्द्रमा पठाउने गरेका छन् ।
त्यसअनुसार सबैभन्दा धेरै उपत्यका पृतनाले हालसम्म ४४४ वटा शव व्यवस्थापन गरेको छ । मध्य पृतनाले १३९, पूर्वी पृतनाले ९८, मध्यपश्चिम पृतनाले ८५, मध्य पूर्वी पृतनाले ५४, उत्तर पश्चिम पृतनाले ४१, पश्चिम पृतनाले १७ र सुदूरपश्चिम पृतनाले ११ शव व्यवस्थापन गरेको पाइएको छ । सैनिक उच्च स्रोतका अनुसार सेनाले व्यवस्थापन गरेका ८८९ शवमध्ये केही क्वारेन्टिनमा आत्महत्या गरेर कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या पनि छ, जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तथ्यांकमा समावेश गर्ने गरेको छैन ।
कमेन्ट गर्नुहोस्