लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्कुलबाट नै ऐलानी जग्गाको ‘अवैध बिक्री’, छानबिन गर्न माग

IMG

१४ असोज, बुटवल । बुटवल उपमहानगरपालिका वडा नंं. १७ का दुई सरकारी विद्यालयले दुई बिघा जग्गा अवैधरुपमा बिक्री गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) ले छानबिन गर्न माग गरेको छ ।मोतिपुर मावि र जनशक्ति प्राविले भोगचलन गर्दै आएको ऐलानी जग्गा विद्यालयको खर्च चलाउने नाममा विद्यालय व्यवस्थापन समितिहरुले २०६५ सालदेखि पटक–पटक गरेर अवैधरुपमा बिक्री गरेकाले छानबिन गर्न माग गरेको हो ।पार्टीको बुटवल उपमहानगर समितिले नगर प्रमुख शिवराज सुवेदीलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक जग्गा बिक्रीको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र बिक्री भएका जग्गा विद्यालय मातहत फिर्ता ल्याउन माग गरेको छ ।


जसपाले बुझाएको चार बुँदे ज्ञापनपत्रमा तिनाउ नदीमा हालै आएको बाढीका कारण वडा नंं. १७ मनकामना टोलमा घर भत्किँदा विस्थापित भएका चार परिवार र बाढीको उच्च जोखिममा परेका ३५ परिवारलाई राहत तथा आवासको व्यवस्था गर्न पनि माग गरिएको छ । बाढी पहिरोबाट वस्तीमा हुने क्षति रोक्न तटबन्ध गर्न तथा तिनाउ र दानव नदी छेउछाउको सुकुम्बासी वस्तीको दीर्घकालीन व्यवस्था गर्न पनि जसपाले माग गरेको छ ।यस्तै कोरोना महामारी नियन्त्रणका लागि उपमहानगरले गरेको खर्च विवरण सार्वजनिक गर्न र बुटवलमा कोरोना संक्रमण दर बढ्दै गएकाले सबै वडामा पीसीआर परीक्षणको दायरा बढाउन पनि जसपाले माग गरेको नगर संयोजक बामदेव भुसालले बताए ।

कमेन्ट गर्नुहोस्