लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अझै ३ दिन देशभर वर्षाको संभावना

tillotmacitynews - 2020 May 03 04:55 PM
IMG

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले निकालेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा विगत केही दिनयतादेखि नेपालमा कायम पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय अवस्थामै रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

हाल देशको अधिकांश भूभागमा बदली रहनुका साथै केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भएको छ । दिउँसो पश्चिमी भूभागमा पूर्ण बदली तथा पूर्वी भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । रातको समयमा पश्चिमी पहाडी भूभाग तथा मध्य र पुर्वी भूभागमा सामान्य बदली भई मध्य र पूर्वी भूभागको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

 

भोलि देशको पश्चिमी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रही देशको पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको औँल्याएको छ । आइतबार देशको धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २६ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।


रासस

कमेन्ट गर्नुहोस्