
रुपन्देही — सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा व्यक्तिगत घटना दर्ता मापन घोषणा, घटना दर्ता सप्ताह तथा घटना दर्ता शिविर सम्बन्धी विषयमा नगर प्रमुख, कार्यपालिका सदस्य तथा वडा सचिवहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।सबैजसो वडाका जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको सो कार्यक्रम नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा संचालन भएको थियो।
कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँसराइ जस्ता व्यक्तिगत घटना घटेको ३५ दिनभित्रै दर्ता गराउनुपर्नेमा जोड दिनुभयो। उहाँले समयमै दर्ता गराएमा भविष्यमा आइपर्ने विभिन्न कानुनी तथा प्रशासनिक समस्याबाट बच्न सकिने र नागरिकको दैनिकी सहज हुने उल्लेख गर्नुभयो। साथै उहाँले सबै नगरवासीलाई आ-आफ्नो वडा कार्यालयमा गई अनिवार्य रूपमा घटना दर्ता गर्न आग्रह गर्नुभयो।
बैठकले वैशाख १ गतेलाई “व्यक्तिगत घटना दर्ता दिवस” का रूपमा मनाउने तथा सोही दिनदेखि वैशाख ७ गतेसम्म “घटना दर्ता सप्ताह” मनाउने निर्णय गरेको छ।कार्यक्रममा वडा अध्यक्षहरूले उठाएका जिज्ञासाहरूको समाधान गर्दै आवश्यक सुझावहरू समेत संकलन गरिएको थियो।कार्यक्रमको सहजीकरण एमआईएस अपरेटर युवराज तिवारीले गर्नुभएको थियो भने सञ्चालन मोहन न्यौपानेले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्