लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

७ वटा दलले राष्ट्रिय पार्टीकाे मान्यता पाए : निर्वाचन आयोग

IMG

तिलोत्तमा, २०७९ मङ्सिर १६ गते । निर्वाचन आयोगले अहिलेसम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ ।निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसाेसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय मान्यता प्राप्त दल बन्न पाउने गरी तीन प्रतिशत 'थ्रेसहोल्ड' कटाएको जानकारी गराउनुभएको हो । जसअनुसार एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । समानुपातिकतर्फ अहिलेसम्म एक करोड तीन लाख ८२ हजार ७५ मत गणना भइसकेको छ । 


न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता वाग्लेले दोलखा, बाजुरा र स्याङ्जामा भने मतगणना चलिरहेकाले रहेकाले त्यसको परिणाम आउन बाँकी रहेको बताउनुभयाे । आयोगले चार दिनभित्र समानुपातिकतर्फको मतगणना सम्पन्न हुने अनुमान गरेको छ । दलहरूले पाएको मत सङ्ख्याअनुसार उनीहरूले बन्दसूचीमा पठाएका समानुपातिक सांसदहरू निर्वाचित हुनेछन् । त्यसका लागि आयोगले दलहरूले प्राप्त गरेको सङ्ख्या पठाउने र दलहरूले आफूले बन्दसूचीमा पेस गरेका नामावलीको क्रम सङ्ख्या तलमाथि नहुने गरी निर्वाचन आयोगमा नामावली पठाउनेछन् । त्यसो गर्दा एक तिहाइ महिलाको सङ्ख्या भने राजनीतिक दलहरूले पठाउनै पर्ने कानुनी व्यवस्था रहेको पनि आयोगका प्रवक्ता वाग्लेले स्मरण गराउनुभयो ।


प्रतिनिधि सभा चुनाव : ४० वर्षमुनिका १० र ७० माथिका १४ जना सांसद

प्रतिनिधि सभा सदस्य चुनावमा रूपान्तरण र युवा पुस्ताको प्रतिनिधित्वको कुरा प्रखररूपमा उठे पनि चुनावी परिणाम भने त्यस्तो देखिएन । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये ४० वर्षमुनिका १० जनामात्र निर्वाचित भएका छन् ।राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा यो कुल जनसङ्ख्याको ४० दशमलव ३५ प्रतिशत रहेको छ । 


त्यस्तै ७० वर्षमाथिका भने १४ जना निर्वाचित भएका निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । साथै सबैभन्दा बढी ४० देखि ७० वर्ष उमेर समूहमा एक सय ३८ जना निर्वाचित भएका छन् । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावअन्तर्गत प्रतिनिधि सभाको प्रत्यक्षका एक सय ६५ निर्वाचन क्षेत्रमध्ये शुक्रवारसम्म एक सय ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मतपरिणामअनुसार ४० वर्षमुनिको उमेर समूहबाट नेपाली कांग्रेसका मुस्ताङबाट २९ वर्षका योगेश गौचन थकाली, नेकपा (एमाले) का बारा–२ बाट ४० वर्षीया ज्वालाकुमारी साह र मकवानपुर–२ बाट ४० वर्षीय महेशकुमार बर्तौला तथा नेकपा (माओवादी केन्द्र) का मोरङ–४ बाट ३७ वर्षीय अमनलाल मोदी हुनुहुन्छ । 


यस्तै ४० वर्ष उमेर समूहमुनिका राष्ट्रिय प्रजातन्त्र पार्टीका जुम्लाबाट ३० वर्षीय ज्ञानबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाण्डाै–२ बाट २७ वर्षीया सोबिता गौतम, ललितपुर–३ बाट ३३ वर्षीया तोसिमा कार्की, चितवन–१ बाट ३९ वर्षीय हरि ढकाल हुनुहुन्छ । नागरिक उन्मुक्ति पार्टीका कैलाली–१ बाट ३९ वर्षीया रञ्जिता श्रेष्ठ र कैलाली–२ बाट ३७ वर्षीय अरुनकुमार चौधरी याे उमेर समूहमा रहनुभएको तथ्याङ्कमा उल्लेख छ ।


७० वर्षमाथिका सांसद

यसैगरी ७० वर्षमाथिको उमेर समूहमा कांग्रेसका डडेल्धुराबाट प्रधानमन्त्री एवम् सभापति ७७ वर्षीय शेरबहादुर देउवा, तनहुँ–१ बाट ७८ वर्षीय रामचन्द्र पौडेल, नुवाकोट–२ बाट ७५ वर्षीय अर्जुननरसिंह केसी, उदयपुर–१ बाट ७३ वर्षीय डा. नारायण खड्का, मोरङ–६ बाट ७२ वर्षीय डा. शेखर कोइराला हुनुहुन्छ । यस उमेर समूहमा एमालेका झापा–५ बाट ७० वर्षीय केपी शर्मा ओली र कपिलवस्तु–३ बाट ७७ वर्षीय मङ्गलप्रसाद गुप्ता रहनुभएको छ भने नेकपा (माओवादी केन्द्र) का सर्लाही–२ बाट महिन्द्र राय यादव हुनुहन्छ ।


जनता समाजवादी पार्टी नेपालका सप्तरी–१ बाट ७३ वर्षीय नवलकिशोर साह सुडी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रुपन्देही–३ बाट ७१ वर्षीय दीपक बोहरा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ बाट ध्रुवबहादुर प्रधान ७० वर्षभन्दा माथिको उमेर समूहका हुनुहुन्छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महोत्तरी–३ बाट ८० वर्षीय महन्थ ठाकुर र रुपन्देही–४ बाट ७२ वर्षीय सर्वेन्द्रनाथ शुक्ला तथा राष्ट्रिय जनमोर्चाका बागलुङ–१ बाट ८० वर्षीय चित्रबहादुर केसी यस उमेर समूहका हुनुहुन्छ । 

कमेन्ट गर्नुहोस्