लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिम्बाबेसँगको शृंखला अमेरिका भ्रमणअघिको सुनौलो अवसर : पुवुदु

IMG

तिलोत्तमा सिटी, बैशाख १६ गते, विस २०७९ साल । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुवुदु दासानायकेले जिम्बाबे ‘ए’ टिमसँगको शृंखला आसन्न अमेरिका भ्रमणअघि नेपाल टिमका लागि उत्कृष्ट अवसर भएको बताएका छन् । टेष्ट मान्यताप्राप्त जिम्बाबेको ‘ए’ टिमले नेपालसँग शनिबारदेखि तीन एकदिवशीय र त्यसपछि तीन ट्वान्टी–२० शृंखला खेल्दैछ । यो शृंखलालाई आगामी जुनमा हुने आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृंखलाअघिको तयारीका रुपमा नेपालले लिएको छ ।


‘अबको १० महिना हामी धेरै व्यस्त हुनेछौं । लिग टूमा २४ खेल बाँकी छ । हामी त्यसअघि युवा खेलाडीलाई एक्स्पोजर बढाएर स्तरीय क्रिकेट खेल्न चाहन्छौं,’ शनिबारदेखि सुरु हुने शृंखलाअघिको पत्रकार सम्मेलनमा प्रशिक्षक दासानायकेले भने, ‘आसन्न शृंखलाका लागि टिम सेट थर्न यू–१९ का खेलाडीहरु पनि समावेश गरेका छौं । यो शृंखला दुवै टिमका लागि नयाँ अनुभवसमेत हो ।’ प्रशिक्षक दासानायकेले यो शृंखला युवाका लागि अवसर भएको र ब्याटिङ सुधारमा केन्द्रित रहने बताए । कप्तान सन्दीप लामिछानेले टेष्ट राष्ट्रका् ए टिमसँगको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् । ‘हामी तयार छौं । यसअघि पपुवा न्युगिनी र मलेसियासँगको शृंखलामा हामीले धेरै प्रयोग गरेका थियौं । अब अमेरिकाको शृंखलाका लागि टिम तयार गर्न केन्द्रित हुनेछौं,’ उनले भने । जिम्बाबे टोलीका प्रमुख प्रशिक्षक डगलास होण्डोले युवा र कम अनुभवी खेलाडीले नेपालसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्ने अपेक्षा गरेका छन् । ‘यो शृंखलामा आएका खेलाडीहरु राष्ट्रिय टिममा पर्न प्रतिस्पर्धामा छन् । हामीले केहि क्षेत्रीय खेल खेलेर यहाँ आएका छौं । हाम्रा खेलाडीका लागि यो चुनौतिपूर्ण अवसर हुनेछ । शृंखला रोमान्चक हुने आशा छ,’ उनले भने, ‘नेपाल बलियो टोली हो ।’ नेपालले दुवै शृंखला जित्ने लक्ष्य राखेको छ । एकदिवशीय शृंखलाका लागि नेपालले १६ सदस्यीय टिमको घोषणा शुक्रबार नै गरेको थियो । जसमा सुनील धमलाले लामो समयपछि राष्ट्रिय टोलीमा प्रवेश पाएका छन् । एकदिवशीय क्रिकेटमा राम्रो प्रदर्शन गर्नसक्ने अपेक्षा टिमले उनीबाट गरेको छ ।


नेपाल क्रिकेट संघ क्यानका जनरल म्यानेजर वृतान्त खनालले जिम्बाबेसँगको शृंखला आफ्नो टिमका लागि क्रिकेट संस्कृति आदानप्रदान गर्ने अवसरको रुपमा भएको बताए । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुने एकदिवशीय शृंखलाका लागि दर्शकलाई १५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ । एकदिवशीय शृंखलाअन्तर्गत तीन खेल हुनेछन् । शनिबार, सोमबार र बुधबार खेल हुनेछ । एकदिवशीयपछि तीन खेलको टी–२० शृंखला हुनेछ ।


कमेन्ट गर्नुहोस्