लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गौडेपुलनजिकै फेरि खस्यो पहिरो,पाल्पा-बुटवल खण्डमा पहिरोको उच्च जोखिम

IMG

पाल्पा  सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै पुन: पहिरो झरेर राजमार्ग अवरुद्ध भएको छ । आइतबार अपरान्ह ५ बजे पहिरो हटाएर यातायात सुचारु भएको तीन घण्टापछि ८ बजेबाट सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

शुक्रबार बिहान झरेको पहिरो हटाएर यातायात सुचारु भएको केही छिनमै पुन: पहिरो खसेको हो । वर्षा रोकिएपछि अवरुद्ध राजमार्ग खुलाउन प्रयास गरिने प्रहरीले जनाएको छ ।

 सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डमा पहिरोको जोखिम बढेपछि सोमबारदेखि रातिमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ । जतिबेला पनि ढुंगा र पहिरो खस्न सक्ने भन्दै सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको हो 

 बेलुकी ८ बजेबाट बिहान ६ बजेसम्म अत्यावश्यक कामबाहेक बर्तुङदेखि बुटवलसम्म यात्रा नगर्न आग्रह गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सडकका विभिन्न स्थानमा माथिल्लो भागबाट ढुंगा र पहिरो खसेको र रातिको समयमा देख्न नसकिने भएकाले सर्वसाधारणलाई केही दिनका लागि रातिमा यात्रा नगर्न आग्रह गरेको बताए । एक सातादेखि पटकपटक पहिरो खस्ने गरेको र पुन: पहिरोको माथिल्लो भागबाट ढुंगा झर्न सुरु भएकाले अँध्यारोमा यात्रा नगर्न आग्रह गरिएको उनले बताए ।

विगत केही दिनदेखि परिरहेको वर्षा र जल तथा मौसम विज्ञान विभागले पनि केही दिन पानी पर्ने जनाएकाले रातिमा यात्रा गर्न खतरा भएको प्रहरी उपरीक्षक दीपक खरेलले बताए । सिद्धार्थ राजमार्गको गौडेपुल, कालीमाटी, चर्चरे, चौविसमाइल, हिउँदेखोला, पानीमिल, दोभान, सिद्धबाबालगायतका स्थानमा पहिरो खस्ने सम्भावना बढी रहेको सडक डिभिजनले जनाएको छ । खराब मौसमका कारण पुन: पहिरो जान सक्ने अवस्थालाइ ध्यानमा राखेर सावधानी अपनाउन प्रहरी र प्रशासनले सूचना जारी गरेको हो ।

एम्बुलेन्स, बिरामी बोकेका सवारी साधन साथै अत्यावश्यक काममा हिँड्ने बाहेक अन्यले यात्रा नगर्न आग्रह गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख पृथ्वीनारायण काफ्लेले बताए । अत्यावश्यक अवस्थामा बाहेक यात्रा गर्दा नजिकको प्रहरी युनिट र प्रशासनमा जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको उनले बताए ।




कमेन्ट गर्नुहोस्