लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महिला हिंसा अन्त्य गर्छुः मन्त्री गुरुङ

tillotmacitynews - 2020 May 30 06:01 AM
IMG

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 


मन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पार्नु भयो । शुक्रबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा आयोजित ‘दोस्रो राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले समाजमा विद्यमान विकृति, विसंगति र सबै प्रकारको हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरिसकिएको बताउनु भयो ।


‘हिंसामुक्त नेपाल निर्माण गर्न सरकारले आवश्यक सबै व्यवस्था मिलाएको छ,’ मन्त्री गुरुङले भन्नु भयो,‘त्यसका लागि आवश्यक कार्यक्रम, नीति र बजेटको व्यवस्था मिलाइएको छ ।’ उहाँले लकडाउनका बेला हुने महिला हिंसा अन्त्यका लागि प्रदेश र स्थानीय तहसँग सहकार्यमा जोड दिइएको पनि स्मरण गराउनु भयो ।


मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि पुरुषहरुलाई सचेत बनाउन अभियान नै संचालन गर्ने घोषणा पनि गर्नु भयो । कोरोना भाइरसका बेला महिला हत्या र हिंसाजन्य अपराधिक घटना घटेकोमा विश्व समूदायनै चिन्तित रहेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकार प्रतिवद्ध रहेको पनि मन्त्री गुरुङको भनाई थियो ।


मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि सरकारले महिलाहरुलाई उद्यमशील बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने तय गरिएको पनि बताउनु भयो । 



बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले महिला हिंसाको घटना हुन नदिन सरकारले पुरुष सहभागितामा जोड दिने गरी आवश्यक योजना बनाएको बताउनु भएको थियो ।


करिव ३ सय बढि सहभागी सो बैठकमा संघीय संसदका सांसदहरु, प्रदेशका सामाजिक विकासमन्त्रीहरु, विज्ञहरुलगायतले महिला हिंसा अन्त्यका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेकोमा आभार व्यक्त गर्नु भएको थियो । 


कमेन्ट गर्नुहोस्