लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अन्यलाई उपत्यकामा ‘नो इन्ट्री’

tillotmacitynews - 2020 May 06 12:37 AM
IMG

काठमाडौँ । सवारी पास लिएर उपत्यका भित्रने गाडीहरुलाई पनि अब कडाइ गरिने भएको छ । यसका लागि उपत्यका प्रवेश नाकाहरु नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवालगायतमा कडाइ गर्न लागिएको हो ।


दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अन्यलाई उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत फर्काउन थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको राससलाई बताउनुभएको छ। “दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि भित्रिन पूर्णनिशेष छ ।”


विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५ सय हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४ सय सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेखमा छ । दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् । अत्यावश्यक सवारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्ति बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।


विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान अवस्थामा अत्यावश्यक कामबाहेक बाहिर निस्कने होइन । घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झूटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।


अनावश्यक रुपमा पास लिएर एक जिल्लाबाट अर्को र एक प्रदेशबाट अर्कोमा आवतजावत बढ्न थालेसँगै सङ्घीय राजधानी काठमाडौँमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ । जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।


नागढुङ्गाको सुरक्षामा खटिनुभएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताउनुभयो । “आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ”, श्रेष्ठले भन्नुभयो । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् । वास्तविक समस्या के हो रु भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको हो । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडीमात्रै पठाउने गरिएको उहाँले बताउनुभयो ।


गृह मन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ । जिल्ला प्रशासन चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोना सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।


काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताउनुभयो । उहाँले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याउनुभयो ।


कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दीको अवधि लम्बिँदै जाँदा काठमाडौँ उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्किङ र जर्सिङपौवा नाका मुख्य छ । वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने सुरक्षा अधिकारीको समेत निष्कर्ष छ ।


महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको जनाउनु भयो । उहाँका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको छ । योसँगै राहत वितरण र अत्यावश्यक सामान ओसारपसार बढेको, विभिन्न कार्यालय सञ्चालन हुन थालेको र उद्योग तथा आयोजना सञ्चालन हुने क्रम बढेकाले पनि यातायातको चाप थपिएको छ ।

कमेन्ट गर्नुहोस्