
ललितपुर । कञ्चनपुरमा सडकमा भेटिएका दुई जना बालकको उद्धार गरिएको छ ।
महेन्द्रनगरमा सडक पेटीमा भेटिएका अन्दाजी ११ वर्षीय र १० वर्षीय दुई बालकलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले उद्धार गरेको हो ।
गत शुक्रबार उद्धार गरिएका दुवै बालकलाई महेन्द्रनगरस्थित अमर बाल गृहमा व्यवस्थापन पनि गरिएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए । ‘लकडाउनका बेला दुई अनाथ बालक सडकमा बेवारिसे अवस्थामा भेटिए’ भन्ने समाचार विभिन्न समाचार माध्यमले प्रकाशित गरेलगत्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले तत्काल उद्धार गर्न परिषदलाई निर्देशन दिएका थिए । मन्त्री गुरुङको निर्देशन र स्थानीय प्रशासनको सहयोगमा दुवै बालकको उद्धार गरी व्यवस्थापन गरिएको परिषदले जनाएको छ ।
बजार क्षेत्रबाट उद्धार गरिएका दुवै बालकलाई उनीहरुको मनोविज्ञान र चाहना अनुसार शिक्षादिक्षाको पनि आवश्यक व्यवस्था मिलाइने अमर बाल गृहका संचालक उत्तर टमाटाले बताए । उद्धार गरिएका दुवैको अभिभावक नभएको बताइएको छ ।
लकडाउनले मुलुक ठप्प भइरहेका बेला राष्ट्रिय बाल अधिकार परिषदले यस अघि काठमाडौंको विभिन्न स्थानबाट पनि ५ जना बालकको सडकबाट उद्धार गरेको थियो ।
यसैबीच, मन्त्री गुरुङले सडकमा अलपत्र परेका कुनै पनि बालबालिका भेटिए स्थानीय प्रहरी वा बालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा १०४ मा तत्काल जानकारी गराउन पनि सबैलाई अपिल गरेका छन् ।
सरकारले सडक मुक्त बालबालिका बनाउने अभियानलाई तीव्रता दिएको र चालू आर्थिक वर्षको हालसम्म ३ सय ९८ जना बालबालिकाको सडकबाट उद्धार गरिएको पनि राष्ट्रिय बाल अधिकार परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए ।
कमेन्ट गर्नुहोस्