लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षमा

IMG
तिलोत्तमा सिटी,११ साउन २०७८,सोमवार। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ ।यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको सोमबार निर्वाचन आयोग पुगेका जसपाका एक नेताले बताए ।जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर को कसको पक्षमा भनेर सनाखत गराएको थियो ।५१ सदस्यीय कार्यकारिणी समितिमा ३४ जनाले उपेन्द्र यादव पक्षमा रहेको भनी हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरे ।टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका रेशम चौधरी पनि सोमबार आयोगमा उपस्थित भएका थिए । तर उनले उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षमा हस्ताक्षर नगरी तटस्थ बसेका छन् ।आयोगले यादव पक्षलाई आधिकारिकता दिने निर्णय गरेपछि अर्को पक्षलाई नयाँ नाम र नयाँ चुनाव चिह्नसहित आउन निर्वाचन आयोगले मौका दिएको छ ।

२०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद छ ।जसपाको आधिकारिकता विवाद समाधान गर्न आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ। सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।त्यसविरुद्ध ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर यही साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्चले साउन १५ गते विपक्षीलाई छलफलका लागि बोलाउन आइतबार आदेश दिएको थियो ।

कमेन्ट गर्नुहोस्